१८ जना उत्तर कोरियालीविरुद्ध एकतर्फी प्रतिबन्ध

ठुलो समाचार
ठुलो समाचार

कोरिया,२० कार्तिक| दक्षिण कोरियाले उत्तर कोरियामा पैसा पठाउने गरेको आरोप लागेका १८ जना उत्तर कोरियालीविरुद्ध एकतर्फी प्रतिबन्ध लगाएको छ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प दक्षिण कोरिया पुग्नु एक दिनअघि यस्तो निर्णय लिइएको हो।
अमेरिकाले दक्षिण कोरियाले प्योङयाङविरुद्ध कडा रवैया अपनाउनुपर्नेमा जोड दिइरहेको छ।
सोलबाट बीबीसीका मार्क लोवेन भन्छन्, पछिल्लो प्रतिबन्धले कुनै व्यवहारिक प्रभाव पार्दैन किनभने दुई देशबीचको व्यापारमा पहिल्यैदेखि नै बन्देज छ।

दक्षिण कोरियाको कालोसूचीमा परेका व्यक्तिहरु पाँचवटा उत्तर कोरियाली ब्यांकका प्रतिनिधिहरु हुन्।
उनीहरु चीन, रुस र लिबियामा खटिएका थिए।
उनीहरुमाथि उत्तर कोरिया खासगरी उसको हतियार कार्यक्रमका लागि रकम जुटाउन मद्दत गरेको आरोप छ।
अमेरिका र संयुक्त राष्ट्रसंघले उनीहरुलाई यसअघि नै कालोसूचीमा राखिसकेका थिए।
पछिल्लो कदमको सांकेतिक महत्त्वमात्रै रहेको ठानिएको छ।
सन् २०१० मा दक्षिण कोरियाली नौसेनाको पानीजहाजलाई उत्तर कोरियाले डुबाइदिएको आरोप लगाइएयता दुई देशबीचको आर्थिक कारोबार बन्द गरिएको छ।
मंगलबार दक्षिण कोरिया आइपुग्ने अमेरिकी राष्ट्रपति ट्रम्पलाई सन्तुष्ट पार्न प्रतिबन्धको निर्णय लिएको जस्तो देखिन्छ।
राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाले उत्तरविरुद्ध नरम नीति लिएको भन्दै आलोचना गर्ने गरेका छन्।
गत सेप्टेम्बरमा उत्तर कोरियाले छैटौँ परमाणु परीक्षण र दुईवटा लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेपछि प्योङयाङविरुद्ध बृहत् स्तरमा अन्तर्राष्ट्रिय प्रतिबन्धहरु लगाइएका थिए।
राष्ट्रपति ट्रम्पले सैन्य कारबाहीले मात्रै उत्तर कोरियालाई काबुमा राख्न सकिने अभिव्यक्ति दिने गरेका छन्।
तर उनको प्रशासन र अरु पश्चिमा सरकारहरु अहिलेको लागि आर्थिक प्रतिबन्ध नै प्योङयाङविरुद्धको सबैभन्दा उपयुक्त विकल्प भएको ठान्दछन्।
कुनै पनि किसिमको सैनिक कारबाहीले ठूलो जोखिम निम्त्याउने उनीहरुको मत छ।
आफ्नो देशमा रहँदा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाविरुद्धका आफ्ना कडा अभिव्यक्तिहरुलाई केही नरम बनाउन भन्ने दक्षिण कोरियाले अपेक्षा राखेको जस्तो देखिन्छ।
त्यसैको आशामा दक्षिण कोरियाले यी एकतर्फी प्रतिबन्धका कदमहरु चालेको हुनसक्छ।

फेसबुक कमेंट्स
follow and like us: